धुलिखेल, २७ भदौ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन् ।
बिपी स्टडी युथ सर्कलले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बिपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उनले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रनेक्रम सुरु भएको बताए ।
नेता कोइरालालले बिपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वास्र्थीपन र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्नसकेमा मात्रै सबैचिज बलियो हुने तर्क गरे । “अहिले सबैमा स्वार्थीपन बढी भएका कारण सामूहिकतामा भन्दा पनि व्यक्तिवादी चरित्र हाबी भएर बिग्रँदै गएको छ”, उनले भने, “पार्टी र सरकारमा भएकाले त्यसलाई त्याग्न सकेको खण्डमा जनताले सोचेको काम र कुरा पूरा गर्न सक्छौँ ।”
पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ । नेता कोइरालाले देशलाई बलियो बनाउन सङ्घीयतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताए ।
छिट्टै प्रदेशलाई सङ्घबाट अधिकार सम्पन्न हुने नीति बनाउन आवश्यक रहेको बताउँदै उनले कोशी प्रदेशमा धर्मका नाममा जातीय लडाईंमा फस्दै गएको अवस्थाले सामाजिक सद्भावलाई खल्बलाउने प्रयास भइरहेकोप्रति सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिए ।














