सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाक जस्तो देखियो : सभापति लामिछाने



काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाक जस्तो देखिएको बताएका छन् ।


आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताएका हुन ।उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी एउटा भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जतिपनि पड्किएन ।’


उनले गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई कन्फिडेन्ट प्रहरीलाई दिन नसक्नुभएको हो कि ? पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो भन्दै प्रश्न गरे । राजनीतिक हस्तक्षेपले प्रहरीले मिडियाको साहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।उनले भने, ‘जतिपनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडियाको सहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो ? ।’सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको उनको आरोप छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : २२ बजे