पार्टी भित्र अन्तरघातीहरु मौलाएः जिपछिरिङ लामा



काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले पार्टी भित्र अन्तरघात मौलाउँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । बडा दसैंको अवसरमा नेपाली कांग्रेस दोलखा भिमेश्वर नगरपालिका काठमाडौं सम्पर्क समितिद्धारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

विगत लामो समयदेखि पार्टीलाई निरन्तर सहयोग गर्दै आएपनि निर्वाचनका क्रममा पार्टी भित्रका आन्तरिक द्धन्दका विषयलाई लिएर आफ्ना उम्मेदवारलाई हराउने गलत प्रवृतिको अन्त्य हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।

गएको आम निर्वाचनमा पार्टी सभापति बर्मा लामा पार्टी भित्र कै नेता कार्यकर्ताको असहयोगका कारण पराजित भएकोे दावी गर्दै पूर्व सांसद समेत रहेका लामाले यस्तो प्रवृतिका कारण दोलखामा विगतदेखि नै पार्टीले ठुलो नोक्सान ब्योहोरिरहेको बताए ।

लामाले हामी एक ढिक्का भएको खण्डमा दोलखामा कसैले हराउन नसक्ने बताउँदै नयाँ पार्टीहरुको चिन्ता लिनपर्ने आवश्यकता नरहेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता कुन्दनराज काफ्लेले पार्टीभित्र यो वा त्यो गुट नभनीकन अगाडि बढ्नपर्ने बेला आएको बताए।उनले आगामी निर्वाचनमा पार्टीलाई थप बलियो बनाउने गरी सवै एकतृत भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र जिल्ला सभापति बर्मा लामाले विगतका गल्ती कमजोरीलाई औंल्याउँदै पार्टी संगठन निर्माणमा एक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व सभापतिहरु तारा बहादुर कोइराला, उद्धव काफ्ले, रुद्रबहादुर खड्का, नेता तारा खड्का, महाधिवेशन प्रतिनिधि दामोदर कार्की, उर्मिला कार्की, च्याङा शेर्पा, शंकर कार्की लगाएतका नेताहरुले संवोधन गरे ।

प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार  ८ : ०४ बजे