मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएलाई तीन महिनाभित्र एकताबद्ध गराउछु : महेश श्रेष्ठ



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको दाबी गरे । उनले भने, ‘१०औं महाधिवेशनपछि संस्था विभाजित अवस्थामा छ । केही साथीहरु असन्तुष्ट भएर बेग्लै अधिवेशन पनि गर्नुभयो । तर म तीन महिनाभित्र असन्तुष्ट साथीहरुलाई एकताबद्ध गराएर इतिहास बनाउन चाहन्छु ।’

यस अघि पनि एनआरएनएलाई पटक पटक वैधानिक रुपमै विभाजित गर्ने प्रयासलाई आफूले रोकेको दाबी गर्दै दुई वर्षभित्र परिणामुखी काम गर्ने प्रतिबद्धता पनि जनाए। ‘म विजयी भएर शपथ गरेको दिनदेखि एक्सनमा काम गर्नेछु । संघमा रहेका सबै पदाधिकारीहरुलाई कामको विभाजन गरेर परिणाम दिलाउनेछु,’उनले भने ।

नेपालको समृद्धिका लागि लगानी भित्र्र्याउने सवालमा र एनआरएनएलाई मजवुद बनाउनका लागि पाँच बुँदे एजेन्डाहरु लिएर चुनावी मैदानमा रहेको भन्दै उनले सरकारसँग सहकार्य गरेर नेपालमा लगानी भित्र्याउन पहल गर्ने जनाए ।

विदेशमा रहेका नेपाली श्रमिक, लगानीकर्ता साथै सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई धेरै नीतिगत र कानूनी समस्याहरु रहेकाले त्यसलाई सुल्झाउन कटिबद्ध रहेको बताए। श्रेष्ठले आफूलाई समर्थन गर्ने उम्मेदवार समावेशी भएको दाबी गरे ।

मंगलबार विहान राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेको महाधिवेशन कार्तिक ३ गतेसम्म चल्नेछ । कार्तिक २ गते मतदान गर्ने निर्वाचन तालिका छ । अनलाइन र भौतिक उपस्थितिमा मतदानको व्यवस्था गरिएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् । अध्यक्ष पदमा श्रेष्ठसहित चार जनाको उम्मेदवारी परेको छ भने महासचिबमा सुवेदीसहित दुई जनाको उम्मेदवारी परेको निर्वाचन समितले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : २७ बजे