टीकापुर, १२ मङ्सिर । कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।
उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफँैले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताए । “एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ”, अध्यक्ष गिरीले भने, “हजारौँ किसान सहभागी छौँ । यतिखेर गहुँ तथा तोरीखेतीका लागि आवश्यक पानी उपलब्ध गराउने लक्ष्य छ ।”
उनले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गरे । “विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन”, गिरीले भने, “ किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफँैँ जुटेका हौँ ।”
कुलाअन्तर्गत १२ गाउँ छन् । गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।
“महिला–पुरुष भन्ने कुरा भएन सबै मिलेर कुला सफाइ गर्दैछौँ”, स्थानीय फूलबसिया चौधरीले भने, “कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।”














