२२ दूरसञ्चार कम्पनीलाइ ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको चेतावनी,बक्यौता नतिरे अनुमतिपत्र खारेज गर्ने



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ दूरसञ्चार कम्पनीलाई प्राधिकरणको सम्पर्कमा आउन निर्देशन गरिएको हो।

कम्पनीहरूले वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्ने हुन्छ। तर उक्त बक्यौता बाँकी रहेकाले भुक्तानी गर्न पटक/पटक पत्राचार भएपनि कम्पनीहरूले शुल्क भुक्तानी गर्न अटेर गरेका थिए। अब प्राधिकरणले ७ दिनको म्याद दिएर सम्पर्कमा आउन भनेको हो।

‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक/पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत् जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

७ दिनसम्म पनि सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।

प्रकाशित मिति : मंसिर १७, २०८० आईतबार  १० : ०१ बजे