मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतारमा मृत्युदण्डको सजाय पाएका राउतलाई स्वदेश फर्काइयो



झापा । कतारको अदालतले मृत्यु दण्ड सुनाएका झापाको कनकाई नगरपालिका– ४ का सुवास राउतलाई ‘सुवास राउत स्वदेश फर्काऔँ अभियानले नेपाल ल्याउन सफल भएको छ ।

आफ्नै सहकर्मीको हत्या अभियोगमा त्यहाँको अदालतले तीन बर्ष कैदसहित मृत्यु दण्ड वा ९० लाख रुपैँया ब्लड मनी दिनुपर्ने फैसला सुनाएको थियो । राउतलाई अभियानकर्मीहरुको पहलमा नेपाल ल्याउन सफल भएकोे अभियानका संयोजक तथा वडा नम्बर ४ का पूर्व वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए ।

यस्तै,उनले अभियानलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अभियानले आज(आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई स्वदेश फर्काउन लागेको बताएको छ ।

विभिन्न संघ संस्था तथा व्यक्तिहरुमार्फत अभियानलाई २० लाख २४ हजार ६५० रुपैँया प्राप्त भएको अभियानका सचिव युगल दवाडीले जानकारी दिए । कतार अदालतले ९० लाख रुपैँया ब्लड मनी तोकेपनि मृतक खोटाङ ऐसेलुखर्क–५ का लामाकाजी राईको परिवारलाई १५ लाख नगदमा मनाउन सकिएको अभियानका सदस्य दीपक चापागाईले बताए ।

उनले भने – ‘हामीले एउटा नेपाली विदेशी भूमिमा मारिनु हुँदैन भनेर त्यहाँको जनप्रतिनिधी, संघसंस्थाहरुमार्फत परिवारमा कुरा गरेर १५ लाख रुपैँया ब्लड मनी बुझाएर सुवासलाई नेपाल ल्याउन सफल भयौँ ।’ उनले अभियानको शुरुवातदेखि अन्त्यसम्म भएका गतिविधीका बारेमा चर्चा गर्दै कार्यक्रमको औचित्यता प्रष्ट्याएका थिए ।

राउतलाई नेपाल फर्काउने क्रममा धेरै पटक काठमाडांै, पिडितको परिवारमा आवात जावत, स्टेशनरी आदिमा खर्च भएको दवाडीले जानकारी दिए । अभियानले संकलित रकम मध्ये बचेको २ लाख ५० हजार रुपैँया स्थानीय कनकाई बालविकास केन्द्रलाई हस्तान्तरण समेत गरेको छ ।

राउतले आफुलाई फसाइएको दाबी गरे । ‘मृतक र म कतारको कम्पनीमा पानीको मोटर चलाउने काम गथ्यौँ, म नुहाएर आउँदा कोठामा छुरी हानेर उनी लडेको देखेर मैले छुरी तानेको थिएँ,’ उनले भने, ‘कसले छुरी हानेर भागेको मलाई थाहा भएन तर छुरी मैले उनको शरिरबाट निकालेको भन्दै मलाई दोषी ठहर गरियो ।’ उनले आफु बाँचेर नेपाल फर्कने आशा नरहेको बताए ।
आफुलाई नेपाल फर्काउन सहयोग गर्ने सबैलाई राउतले धन्यवाद दिए । तीन बर्ष जेल सजाय काटेर राउत दुई हप्ता अघि नेपाल आएका थिए तर आएर उनी कतार मै हुँदा दिवंगत आमाको काम गर्नु परेका कारण हिसाव किताब फरफारकमा ढिलाई भएको अभियानले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ५९ बजे