काठमाडौं । लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने भएको छ । लक्ष्मी क्यापिटल कोष प्रवर्धक रहेको फण्डले युनिटेकमा रणनीतिक लगानीसँगै दिगो ऊर्जाका लागि निरन्तर पहल गर्ने विज्ञप्ति जारी गर्दै जनाएको हो ।
यस्तै, आफैंले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको सुरुवात गरेको समेत जानकारी दिएको छ । विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नका लागि इजाजतपत्र प्राप्त गर्ने कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो, जसले जलविद्युत, सौर्य र वायु ऊर्जा लगायतका लगानी गर्ने तयारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड ताप्लेजुङको माथिल्लो फावा खोला जलविद्युत आयोजनाको प्रवर्धक हो । ५.८ मेगावाटको उक्त आयाजना निर्माणाधीन छ । उक्त कम्पनीसँग थप १५ मेगावाटको मध्य इङ्वा खोला जलविद्युत आयोजना निर्माणको इजाजतपत्र समेत छ ।











