प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुने प्रतियोगिताले अगामि वर्षहरुमा समेत नजिरको रुपमा स्थापित गर्ने बताए ।

प्रतियोगीताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको लामो खेलकुद जगतभित्र पनि यो पहिलो विश्वविद्यालय प्रतियोगिता भएकाले यस प्रतियोगिताले राखेप र विद्यालयहरुको सम्बन्धको जग बलियो बनाएको बताए । उनले भने, नेपालको खेलकुद क्षेत्रमा विगत जसरी गुजर्यो, त्यसको जिम्मेवार आजको खेलकुद जिम्मेवारी होइन, आजको खेलकुद त भविष्यको सम्भावनाको नजिरको रुपमा स्थापना हुन सक्नेछ । यस प्रतियोगिताले विश्वविद्यालय र रापेखबीचको सम्बन्ध, यस प्रतियोगिताले विश्वविद्यालय र डाक्टर र इन्जीनियरको कारखाना मात्र होइन खेलाडीहरुको समेत कारखाना छ भनेर प्रमाणित गर्न सक्नेछ ।’

निकट भविष्यमा समेत यस्तै प्रतियोगिताहरुको आयोजना गदै नेपाल खेलकुद परिषद् खेल विकासका लागि प्रतिवद्ध रहेको कोइरालाको भनाई थियो । त्यस्तै, कार्यक्रममा राखेपका निमित्त सदस्य सचिव प्रकास कुसारीले विश्वविद्यालय खेलकुद प्रतियोगिता विद्यालयस्तरीय प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्डको निरन्तरता भएको बताए । खेलकुदलाई विश्वविद्यालयमा प्रवेश गराउने अवसरको रुपमा यस अवसरलाई लिएको उनको भनाइ थियो ।

उनले भने, ‘ हामीले खेलकुदका क्षेत्रमा यस प्रतियोगितालाई अवसरका रुपमा लिएका छौं । आउँदा वर्षहरुमा यस प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने छौं । खेलकुदलाई शिक्षा क्षेत्रमा प्रवेश गरेका छौं, यो नयाँ सुरुआत हो ।’

खेलाडीहरु शिक्षित पनि हुन्छन् भन्ने स्थापित गर्न यस प्रतियोगिताको आयोजना गरेको उनको भनाई थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रकाशित मिति : माघ २२, २०८० सोमबार  २ : ४९ बजे