मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँ :राजदूत श्रेष्ठ



नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले खुला हृदयले सहयोग गर्दै आएको छ । चीन नेपालको ‘सङ्कटको साथी’का रुपमा समेत रहेको छ । भूकम्प, कोभिड–१९ लगायत अप्ठयारो अवस्थामा चीनले ठूलो सहयोग पु¥याउँदै आएको छ । नेपाल र चीनका तर्फबाट विभिन्न समयमा भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएका छन् । नेपाल सरकारले पनि चीनसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको छ ।

चीनको राजधानी बेइजिङमा रहेको नेपाली राजदूतावासले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउन भूमिका निर्वाह गरिरहेको छ । केही दिनअघि मात्रै उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गरे ।

प्रस्तुत छ, सो भ्रमण दलमा सहभागी रहनुभएका राष्ट्रिय समाचार समिति ९रासस०का समाचारदाता अशोक घिमिरेले नेपाल–चीन सम्बन्ध, आर्थिक कूटनीति, दूतावासको भूमिकालगायत विषयमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः चीनका लागि नेपाली राजदूतका रुपमा यहाँको कार्यकाल कस्तो चलिरहेको छ

चीन नेपालको उत्तरी छिमेकी तथा ठूलो मुलुक हो । नेपाल–चीनबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । म चीनका लागि राजदूत भएर बेइजिङ आएको करिब २० महिना पुग्यो । यसअवधिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा राम्रो प्रगति भइरहेको छ भन्ने लागेको छ ।

यो बीचमा नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरु कस्ता रहे यसबीचमा नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणहरु खुसी र गर्व गर्न लायक छन् । विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ नियन्त्रण भएपछि धेरै उच्चस्तरीय भ्रमण भएका छन् ।

नेपालबाट उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सभामुख, पूर्वसभामुख, प्रधानन्यायाधीश, प्रधानसेनापति, विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा सांसदलगायतले यसबीचमा चीन भ्रमण गरे । सरकारीस्तरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण रह्यो । प्रधानमन्त्री दाहाल हाङजाउमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा सहभागी भए ।

सो क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग प्रतिनिधिमण्डलस्तरमा छलफल भयो । दुई देशका उच्चस्तरीय कार्यकारिणी व्यक्तिबीच अत्यन्तै सौहाद्र्र, खुला र स्पष्ट रुपमा छलफल भयो । त्यसबाट धेरै उपलब्धि प्राप्त भएका छन् ।

राष्ट्रपति सीले नेपाललाई बढी नै महत्व दिनुभएको अनुभूति हुन्छ । त्यो समयमा हाङजाउमा उहाँ अत्यन्तै समयको चापमा हुनुहुन्थ्यो । अन्य देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । त्यस्तो समयमा हाम्रा प्रधानमन्त्रीसँग उनले ‘वान टू वान’ वार्ता गरे । प्रधानमन्त्रीको भ्रणका क्रममा छलफल भएका धेरै विषय समेटिएर संयुक्त वक्तव्य पनि जारी भयो । सो वक्तव्यभित्र नेपाली पक्षको हितमा हुने तथा नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषय उल्लेख छ । सबै प्रकारका उच्चस्तरीय भ्रमणमा दुई देशको सम्बन्धलाई अझ गहिरो र प्रगाढ बनाउने बारेमा गम्भीर छलफल भएका छन् । जति पनि उच्चस्तरीय भ्रमण भएका छन्, यी सबै गर्व गर्न लायक छन् । उच्चस्तरीय भ्रमण सफल हुँदा राजदूतका रुपमा मलाई खुसी पनि लागेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा उल्लिखित विषय कार्यान्वयनका अवस्था के छन् ?
संयुक्त वक्तव्यमा उल्लिखित विषय कार्यान्वयनको चरणमा छन् । दूतावासबाट निरन्तररुपमा ती विषय कार्यान्वयनका लागि क्रियाशील छौँ । दुवै पक्षबाट आ–आफ्ना जिम्मेवारीको विषय सम्पन्न गरी अघि बढ्दा वक्तव्यमा भनिएका विषय छिट्टै पूरा गर्न सकिन्छ । त्यस निमित्त दुवै देश तत्पर भएको महसुस भइरहेको छ ।

नेपाल–चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भयो, यहाँ राजदूत भएर आएपछि भएका सम्झन लायक उपलब्धि के रह्यो ?
अन्तरदेशीय रेल्वे लाइनको सम्भाव्यता अध्ययन सुरुआत भएको छ । बन्द भएका सीमा नाका खुलेका छन् । अन्तर्राष्ट्रिय ‘पोर्ट’ धेरै खुलेका छन् । कोरोना महामारीका कारण नेपालमा रोकिएका विद्यार्थीलाई चीनमा अध्ययनका लागि सहजीकरण गरिएको छ । पर्यटन प्रवद्र्धनका निमित्त धेरै कार्यक्रम सम्पन्न भएका छन् । वाणिज्य व्यापारका क्षेत्रमा पनि राम्रा काम भएका छन् । चीनले भन्सार छुट दिएका नेपाली उत्पादनको बिक्रीका लागि सहजीकरण गरिएको छ । त्यस्ता कतिपय उत्पादन नेपालसँग छैन, कतिपयलाई चीनमा निर्यातका लागि अप्ठ्यारो छ । चीन सरकारले नेपाल–चीन सीमा नाकाका विभिन्न स्थानमा बहुउद्देश्यीय प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता गरेको छ । त्यसको सुरुआत भएपछि भन्सार छुटका सामग्रीको व्यापार पनि राम्रो हुन्छ । हवाई उडानका विषयमा पनि प्रगति भएका छन् ।

सन् २०१६ मा नेपाल–चीनबीच भएको व्यापार तथा पारवहन सन्धिका आधारमा एक ट्रिप सामान नेपाल जाने र एक ट्रिप सामान नेपालबाट बाहिर जाने काम भएको छ । नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि यो निकै नै महत्वपूर्ण छ । भारतका विभिन्न क्षेत्रमा सामान ल्याउने गरिरहेको अवस्थामा चिनियाँ बाटो पनि खुल्दा तेस्रो मुलुकसँग व्यापार व्यवसाय गर्न सहज भएको छ । नेपाल–चीन वाणिज्य व्यापारका क्षेत्रमा ठूलो उपलब्धि हुने खालका काम भइरहेका छन् । अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने काम अघि बढेको छ । स्याफ्रुबेँसी–केरुङ दुई सय २० केभी प्रसारण लाइनको निर्माण सुरु हुने क्रममा छ । सो परियोजना निर्माणको टुङ्गोमा पुग्न द्विपक्षीय छलफल जारी छ । पूर्वाधार निर्माण, जनता–जनताबीचको सम्बन्ध, पर्यटन, वाणिज्य व्यपारलगायत विषयमा फड्को मार्ने गरी अघि बढिइएको छ । अझ बढी नतिजा आउने गरी काम गर्न दूतावास क्रियाशील छ ।

नेपाल–चीनबीचको आर्थिक कूटनीति प्रवद्र्धनमा राजदूतावासले के कस्ता पहल गरिरहेको छ ? चीनसँगको व्यापार घाटा न्यूनीकरण र नेपाली वस्तुको चीनमा निर्यातका लागि के काम भइरहेका छन् ?
चीनमा चारवटा नेपाली महावाणिज्य दूतावास छन् । हङकङ, छेन्दु, ल्हासा र ग्वान्जाओमा महावाणिज्य दूतावास छन् । व्यापार व्यवसायका निमित्त महावाणिज्य दूतावाससँग समन्वय गरेर विभिन्न कार्यक्रम गरिरहेका छौँ । स्रोतको अभावमा चाहेको जति गर्न त सकेका छैनौँ तर पनि नेपाली सामान चीनमा ल्याउने र विभिन्न सरहमा नमूनाका रुपमा बिक्री वितरण गराउने कार्यमा निरन्तर लागिपरेका छौँ । विभिन्न प्रदर्शनीमा नेपालको उपस्थिति रहेको छ । नेपालको वाणिज्य व्यापार तथा आर्थिक कूटनीतिका सम्बन्धमा के–के सुविधा प्रदान गर्न सक्दछ भन्ने विषयलाई व्यापारीसमक्ष जानकारी गराउने कोसिस गरेका छौँ । नेपालका नीति नियमलाई चिनियाँ भाषामा अनुवाद गरेर वितरण गरिएको छ । नेपालको व्यापारमा सहजीकरण गर्न विभिन्न अन्तरक्रिया, भेटघाटजस्ता कार्य गरिरहेका छौँ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १ : ५३ बजे