मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम–२ मा घण्टीका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत



इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थात् घण्टीका उम्मेदवार मिलनकुमार लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । गत निर्वाचनअघि सञ्चारकर्ममा हासिल गरेको लोकप्रियतालाई दल खोलेर निर्वाचनबाट मतमा परिणत गराएका रवि लामिछानेको दल रास्वपा अहिले सत्तामा छ ।

आमनिर्वाचनलगत्तै भएको भएको उपनिर्वाचनमा तनहुँ र चितवन दुई ठाउँबाट जितेर हौसिएका लामिछानेको दल यसपटक इलाम–२ मा भने जमानत समेत जोगाउन नसक्ने स्थितिमा देखिएको छ । यहाँको परिणामले पहाडी जिल्लाहरूमा घण्टीको प्रभाव कम रहेको पुष्टि गरेको छ ।

लामिछाने हाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत छन् । उपनिर्वाचनमा पत्रकारितामै सक्रिय रहेका मिलन लिम्बुलाई उम्मेदवार बनाएर लामिछाने आफैँ पटक–पटक इलाम पुगेका थिए । लामिछानेसहित रास्वपाका सांसदहरू इलाम पुग्दा उनीहरूमाथि सर्वसाधारण सेलिब्रेटीको पछि लागेझँै झुम्मिएका थिए । तर निर्वाचनमा भने रास्वपाले १० प्रतिशत मत समेत ल्याउन सकेन । रास्वपाका उम्मेदवार लिम्बुको जमानत जफत भएको छ । यसले रास्वपाको मिसन–२०८४ मा ब्रेक लगाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ले निर्वाचनमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । इलाम–२ को उपनिर्वाचनमा लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत हुने अन्तिम मतपरिणामले देखाएको छ ।

निर्वाचन आयोगका अनुसार १० जना उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८, मंगोल नेशनल अर्गनाइजेसनका मनिकुमार लिम्बुले ८१६, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र जनमतका प्रेमकुमार थाम्सुहाङले ११८ मत मात्रै पाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ९ : १२ बजे