वातावरण संरक्षणका लागि रणनीतिक योजना बनाएर अघि बढ्न आवश्यक : प्रदीप पौडेल



काठमाण्डौं । नेपाली काँग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वातावरणीय प्रदूषणबाट नेपालले ठूलो क्षति ब्यहोर्नु परिरहेको वताएका छन् । वातावरणीय विनाशका सन्दर्भमा नेपालको हिस्सा जति छ त्यसको तुलनामा नेपालले ब्यहोर्नु परेको क्षतिको परिणाम धेरै गुणा बढि रहेको उनको भनाइ छ ।

विश्व वातावरण दिवसको अवसरमा सामाजिक सञ्जाल मार्फत उनले नेपालले यस विषयलाई न बलशाली रूपमा उठाउन सकेको न त यसको क्षतिपूर्ति दाबी गर्न प्राथमिकताका साथ लिएर विशेष कानुन तथा ऐन नै बनाउन सकेको वताएका छन् ।

उनले भने, ‘यसको क्षतिपूर्ति माग गर्न नै हामीलाई थुप्रै ऐन तथा कानुन बनाउन आवश्यक छ भने वातावरण संरक्षणका लागि हामीले गरेका विभिन्न प्रतिवद्धता र लिएका लक्ष्य हासिल गर्न झनै सक्रिय भएर कार्य गर्नु पर्ने छ ।’

पूर्वाधार निर्माणमा वातावरणीय सन्तुलन कायम गर्न कडाइ गर्ने देखि प्रकृति मैत्री विकासमा प्राथमिकता दिने, जनचेतना अभिवृद्धि गर्ने तथा दैनिक मानवीय व्यवहारमा प्रकृति संरक्षणको आत्मबोध गराउने संस्कारको विकास गर्ने, हरित ऊर्जा र नवीकरणीय ऊर्जाको विकास गर्ने लगायतका पर्यावरण रक्षाका थुप्रै सवालमा दृढतापूर्वक लाग्नु पर्ने उनको भनाई रहेको छ ।

यस विषयमा ऐन नियम बनाउने देखि व्यवहारिक जीवनमा गरिने थुप्रै कार्य गर्न अत्यन्तै ढिला भइसकेको र यो विषयमा एउटा व्यक्ति वा राष्ट्रले मात्रै अग्रसरता लिएर नपूग्ने तर सुरुवात भने अवश्य गर्न सकिने उनको भनाई छ ।

उनले भनेका छन, ‘वातावरण संरक्षणका लागि रणनीतिक रूपमा कार्य योजना बनाएर अघि बढ्न आवश्यक छ । स्वच्छ वातावरणमा बाँच्न पाउने हक अधिकारका निम्ति प्रतिवद्ध भएर लाग्न सबैमा अपील गर्दछु । पर्यावरणीय रक्षाका लागि हामी, सबै सँगै एक जुट भएर सामूहिक रूपमा गम्भीरतापूर्वक लाग्नुको अर्को विकल्प छैन ।’

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार  ७ : ३२ बजे