नेपाली खेलकुद क्षेत्रका ऐतिहासिक तस्वीरहरु सुरक्षित राखेको छु : श्याम चित्रकार



काठमाडौं । तन्नेरी जीवनमा चर्चित फुटबलरको रुपमा नाम कमाएर खेलकुद फोटोग्राफी सुरु गरेका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार उमेरले ८२ टेके । सुरुको केही समय ‘ए डिभिजन’ क्लबबाट राष्ट्रिय फुटवल प्रतियोगिता खेलेका चित्रकारले वि.स. २०२० सालदेखि लगातार सात वर्ष महावीर क्लबबाट फुटवल खेलेर उपाधिसम्म जिताए । त्यति मात्र होइन अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलेको अनुभवसमेत छ चित्रकारसँग । भारतीय क्लबहरुसँग ‘बर्थ डे कप’ खेलेको चित्रकार सुनाउँछन् ।

वि.स. १९९८ सालमा काठमाडौंको पुतलीसडकमा जन्मेका चित्रकारको जीवन काठमाडौंमै वित्यो । व्यवसायिक परिवारका चित्रकारका बुबाले काठमाडौंकै असनमा किराना पसल चलाउँथे भने रत्नपार्कमा चिया पसल । बुबाको रत्नपार्कस्थित चिया पसलमै हु्र्किएका चित्रकार बाल्यकालदेखि नै फुटबलप्रेमी थिए । पसल नजिकैको टुँडिखेलमा हुने खेलहरु हेर्दै चित्रकार हुर्किएका हुन् ।

७ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका चित्रकार पछि फोटोग्राफर बने । २०२० सालमा भएको युवा महोत्सवदेखि नवौं राष्ट्रिय खेलकुदका फोटोहरु आफ्नो क्यामेरामा कैद गरेका चित्रकारले आफ्नो जीवनका केही अनुभव नेपाल न्युज बैंकसँग साटेका छन् ।
०००

मेरो जन्म वि.स. १९९८ सालमा काठमाडौंको पुतलीसडकमा भएको हो । मेरा हजुरबुबाले ट्रक चलाउनुहुन्थ्यो । मेरो बुबाले काठमाडौंको असनमा किराना पसल र रत्नपार्कमा चिया पसल चलाउनुहुन्थ्यो । मेरो बुबाले पसल खोल्दाखेरि रत्नपार्क र टुँडिखेल खुल्ला थियो । त्यो बेला उपत्यकाका विभिन्न ठाउँबाट मान्छेहरु त्यहाँ फुटबल खेल्न आउनुहुन्थ्यो । म त्यतिबेला बच्चै भएपनि हेर्न जान्थें । हामीहरु उनीहरुले हान्दाखेरि पोस्टबाट बाहिर गएको बल हानेर भित्र दिन्थ्यौं ।

त्यसरी नै मेरो खेलको सुरुवात भएको हो । त्यसपछि म १२ वर्षमुनीको उमेर समूहमा अन्नपूर्ण क्लबमा आवद्ध हुने अवसर पाए । त्यो समयमा मैंले राम्रो प्रदर्शन गरे । पछि केही समय पसलमा व्यस्त हुनुपर्ने भयो । त्यो बेला मसँग पैसा हुनेभएकाले साथीहरु पसलमा भेला हुन्थे । अनि हामी सिनेमा पनि खुब हेथ्र्यौ । त्यसबेला सबै साथीहरु चिटिक्क भएर हिँड्थे म टालेको पाइन्ट लगाएर जान्थें । लुगा कपडामा सौखिन थिइँन । मेरो ध्यान पढाइभन्दा पनि खेकुदमै बढी जान्थ्यो । बढी फुटबल खेल टुँडिखेलमै हुने र आफ्नो अभ्यास पनि राम्रो भएको हुँदा खेल्न पाइरहन्थें । विस्तारै खेलमा दख्खल हुँदै गए । पछि मैंले १६ वर्षको उमेरमा पहिलो पटक बुट लगाएर खेल्ने मौका पाए ।

त्यसबेला पनि ‘ए’ क्लब र ‘बि’ क्लब हुन्थे । मैंले राम्रो खेलेपछि ‘ए’ क्लबमा परे । मैंले व्यवसायिक फुटबल खेलेको २२ वर्षदेखि हो । २७ वर्षदेखि खेल्दा हाम्रो टिम फस्ट मात्र हुन्थ्यो । लिग र वर्थ डे कपमा त हामीले चारपाँच वर्ष एकछत्र राज नै गर्यौं । सँधै उपाधि जित्यौं ।

चर्चित फुटबलरदेखि फोटो पत्रकारसम्म
मेरो भिनाजु सिनेमेटोग्राफर हुनुहुन्थ्यो । उहाँको स्टुडियो थियो । साथीहरुसँग म धेरै डुल्नघुम्न थाल्यो भनेर आमाले मलाई काम सिक्नका लागि भिनाजु फोटो पसलमा पठाउनुभयो । पछि उहाँको स्टुडियोमा मैंलै धेरै कुरा हेर्दै सिक्न थालें । भिनाजुले क्लास पनि दिनुभयो । एउटा क्यामेरा दिएर उहाँले बाहिर पनि खिच्न पठाउन थाल्नुभयो । अनि म फुटबल खेल्न जाँदा पनि आफ्नै क्यामेरा लिएर जान्थें । खेल सकिएपछि बाहिर आएर फोटो खिच्थें । यसरी नै मैंले फोटोग्राफी सुरु गरेको हुँ ।

स्पोर्ट्सम्यान र फोटोग्राफी सँगै अगाडि बढाए । डिल्लीबजारमा मंैले फोटो पसल पनि खोलें । पछि मैंले खिचेका स्पोर्टसका फोटोहरु गोरखापत्र दैनिकमा माग हुन थाल्यो । फ्रिलाइन्सरका रुपमा साप्ताहिक पत्रिकामा पनि काम गरें । त्यो बेला फोटोबापत पैसा मिल्दैन्थ्यो । गोरखापत्रमा नाम आएपछि मख्ख पर्थें । नाम भए पुग्थ्यो । कान्तिपुरले चाँही त्यो बेलामा पनि एक हजार दुई रुपैयाँ एउटा फोटोको दिने गर्दथ्यो ।

मेरो घरको अगाडि केशव स्थापितको घर थियो । त्यो बेला कराते सिकाउन पाइँदैन्थ्यो । तर, स्थापितले लुकीलुकी सिकाउने व्यवस्था मिलाउनुहुन्थ्यो । करातेको गुरु चाँही युवराज लामा हुनुहुन्थ्यो । एकदिन उहाँ मेरो पसलमा आएर फोटो खिचाउनुभयो । मैंले खिचेको त्यही फोटो पहिलो पटक गोरखापत्रमा छापिएको थियो । गोरखापत्रमा फोटो छापिन थालेपछि मेरो चर्चा हुन थालेको हो ।

त्यतिबेला दरबारबाट पोट्रेट खिच्न मलाई बोलाइन्थ्यो । फोटो खिच्दाखेरि पछि राजा(वीरेन्द्र शाह)ले पनि मैंले खिचेका फोटोहरु मन पराइदिनुुभयो । त्यसपछि दबारभित्र ग्राफिक्सका लागि आवश्यकता पर्दा बोलाउने भन्ने कुरा भयो । सरकारबाट हुकुम भएको भन्दै राजदरबारको सचिवालयमा बस्ने सचिबले मलाई बोलाएरै बधाई दिनुभयो ।

पछि ज्ञानेन्द्र सरकारका कार्यक्रमहरु पनि खिच्ने मौका पाए । राजदरबारमा धेरै नै काम गरें । वीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका धेरै फोटोहरु खिच्ने मौका मिल्यो । विशेषगरी किशुनजी मेरो फोटोबाट औधि खुशी हुनुहुन्थ्यो ।

पहिलो टेलिभिजन फोटो पत्रकार
म नेपाल टेलिभिजनमा पहिलो फोटो पत्रकारका रुपमा जोडिएको थिए । मलाई त्यहाँ जोड्न मुख्य काम नीर शाहले गर्नुभयो । टेलिभिजन परियोजना सुरु गर्न समिति गठन भएपछि नी शाहले मेरो ग्राफिक्स आर्ट्समै पुगेर ‘लौ बधाइ छ श्यामजी, अब हामी अष्टे«ेलिया जानुपर्ने भयो’ भनेर पहिलो पटक विदेश भ्रमणका लागि प्रस्ताव गर्नुभएको हो ।

दुर्गानाथ शर्मा रिपोर्टर, म क्यामेराम्यान र नीर शाह व्यवस्थापकका रुपमा अष्ट्रेलिया गयौं । यो २०४१ सालको कुरा हो । २०४१ सालमै तत्कालीन राजा वीरेन्द्र अष्ट्रेलिया भ्रमणमा नेपालबाट सञ्चारमाध्यमको प्रतिनिधित्व गरेर जाने पहिलो क्यामेरा पर्सन मौका मैंले नै पाए ।
सन्देश र सपना

पछिल्लो समय फोटो पत्रकारितामा अनुशासन देखिन छाडेको छ । न्यूनतम अनुशासन र विधि पालन गर्न छाडिएको छ । अब फोटो पत्रकारितामा आउने नयाँ पुस्ताले वास्ताविकता खिच्नुपर्छ । राम्रो कुरामात्र नभई नराम्रो कुरालाई समेत खिचेर देखाउने क्षमता राख्नुपर्छ । ढाकछोप गरेर खिच्न मिल्दैन् । यथार्थ कुरा खिच्न नयाँ पुस्ता अग्रसर हुनुपर्छ ।

अहिलेको अवस्थामा फोटो खिचेर आर्टिफिसियल सम्पादन गर्ने प्रवृति बढेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने अबको पुस्ताको जिम्मेवारी हो । यसमा आउँदो पुस्ताले ध्यान दिनुपर्छ । मेरो अन्तिम चाहना भनेको आफूसँग नेपाली खेलकुदसँग सम्बन्धित प्रमाण र तस्वीरहरु सरकारलाई बुझाउन चाहन्छु । जो मसँग छन् । ति प्रमाणहरु नेपालको राष्ट्रिय खेलकुद परिषद, सूचना विभाग र खेलकुद मन्त्रालयसँग पनि छैन ।

मंैले जोगाएर राखिदिएका ऐतिहासिक फोटोहरु राज्यले भावी पुस्ताका लागि जोगाइदिओस् । खेलकुद क्षेत्रको इतिहास मैंले फोटोको रुपमा सुरक्षित राखेको छु । म सँग जति सामग्री र फोटोहरु छन् ति नेपालका कोही व्यक्ति र संस्थासँग छैनन्, यो मेरो दावी हो । तर यसका लागि सरकार र मातहतका निकायहरुले सम्झौता गरुन, मेरो योगदान र श्रमको सम्मान गरुन् ।

वि.स. २०२० सालदेखि २०८१ सालसम्मका रेकर्डहरु भिडियो, फोटोहरु मसँग अहिलेसम्म सुरक्षित छ । जुन रेकर्ड राष्ट्रिय खेलुद परिषद्सँग पनि छैन, सूचना विभाग वा राज्यका कुनैपनि निकायसँग छैन् । त्यो सबै रेकर्ड मसँग छ ।

वि.स. २०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुदको फोटो र भिडियो पनि मसँग सुरक्षित छ । नेपाली खेलकुद इतिहासको धरोहर मसँग छ । यसलाई अब कसरी संरक्षण गर्ने त ? मेरो त उमेर गइसक्यो ।
मेरो छोरा पनि छैन, मेरो कतिबेला के हुन्छ थाहा त्यो पनि छैन । त्यसैले सरकारले म सँग भएको अर्काइभको जिम्मा लिएर राखिदियो भने म ढुक्क हुन्थें । तर, सरकारलाइ यस्तो कुरामा वास्ता नै छैन ।

बैकुण्ठ मानन्धरलगायतका अन्तर्वार्ता तत्कालिन समयका महत्वपूर्ण खेलाडीहरुले बोलेका कुरा रेकर्ड गरेर राखेको छु । राखेपलाई मैले यसका लागि प्रस्ताव गरेको छु । सकरात्मक हुनुहुन्छ । अब के गर्नुहुन्छ हेरौं ।
(विश्व खेलकुद पत्रकार दिवसका अवसरमा नेपालका पहिलो खेलकुद एवं टेलिभिजन फोटो पत्रकार श्याम चित्रकारसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : २८ बजे