बाङ्ग्लादेशमा सरकारविरोधी प्रदर्शन फेरि उत्कर्षमा, मृतकको सङ्ख्या ९० नाघ्यो



काठ्माण्डौ । बाङ्ग्लादेशमा पुनः चर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार कम्तीमा ९० जनाको मृत्यु भएको छ।

मारिनेमा १३ जना प्रहरी रहेको बीबीसी बाङ्ग्लाले जनाएको छ। सिराजगञ्जको एक प्रहरी चौकीमा भएको आक्रमणमा उनीहरू मारिएको बाङ्ग्लादेशको प्रहरी मुख्यालयले जनाएको छ। आक्रमण कसले गरेको थियो भन्नेबारे प्रहरीले खुलाएको छैन।

स्थिती नियन्त्रणमा लिन सरकारले साँझ छ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ।

गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर कर्फ्यू घोषणा गरेको हो।

गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।

यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।

राजधानी ढाकामा मोबाइल उपकरणहरूमा प्रयोग गरिने इन्टरनेट बन्द गरिएको छ।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायका अधिकारीले फोरजी इन्टरनेट बन्द गरिएको बीबीसी बङ्ग्लासँग बताएका छन्। फेसबुक र ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको विवरण आएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ।बीबीसीबाट

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  ९ : २२ बजे