काठमाडौँ । गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन्। वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ।
सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ ।
बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ ।
वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
उनका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सवारीसाधनको जाम पनि हटेको छ। विशेषगरी करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।
विशेषगरी काठमाडौँको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ वानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।
सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ।
रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ। पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ। अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन्। यस्तै नेपाल पर्यटन बोर्ड परिसरमा पनि पानी जमेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ।
अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ।