गुल्मीमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु



तम्घास । गुल्मीमा पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ।मंगलबार पहिरोमा परी दुई जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए।

जिल्लाको मुसिकोट नगरपालिका(१ बिसौनाका विष्णु विकको घरमाथिबाट आएको लेदोसहितको पहिरो विष्णु विक र हुकुम विकको घर पुरेको थियो।

पहिरोमा पुरिएर मृत्यु हुनेमा ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विक छन्।

पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन्।

मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो।

प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार  २ : २७ बजे