काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन बुझाउँदै छ ।
ओलीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाउन लागेको हो ।
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो ।
यसलाई चालु संसदबाटै विधेयक पारित गरेर अघि बढाइने छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरु पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बताइएको छ ।














