काठमाडौँ– निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अमेरिकाले सत्ताच्यूत गरेको आरोप लगाएका छन्।
अमेरिकी सैन्य साझेदारी कार्यक्रम (एसपीपी)मा सहमति नजनाएका कारण आफूलाई षड्यन्त्र गरी अमेरिकाले सत्ताच्यूत गराएको विश्लेषण माओवादी स्थायी कमिटी बैठकमा सुनाएका छन्।
अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको समेत जिकिर गरेका थिए। एसपीपी स्वीकार नगर्दा आफूलाई र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी प्रचण्डले गरेका थिए।
दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको प्रचण्डको ठहर छ। अमेरिकाले दक्षिण एसियाली देशमा आफ्नो शक्ति प्रदर्शन गर्न थालेकाले अब होसियार हुनुपर्ने अवस्था आएको विश्लेषण सुनाएको पार्टीका एक स्थायी कमिटी सदस्यको भनाइ छ।
राष्ट्रिय स्वाधीनता संकटमा परेको ठहर गर्दै वामपन्थी र देशभक्त शक्ति एक ठाउँ उभिनुपर्ने अवस्था सिर्जना भएको समेत प्रचण्डको विश्लेषण थियो।
प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एस, विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वको नेसपालगायतका दलसँग एकताको पहल भइरहेको बताएका थिए।
कांग्रेस र एमालेको सहकार्य देशभित्रको मात्र परिस्थितिले नभएको भन्दै आउने चुनाव एक्लै लड्ने उनको भनाइ थियो।
बैठकमा उपमहासचिव जनार्दन शर्माले सांगठनिक प्रस्तावसमेत पेस गरेका छन्।














