मुग्लिन–पोखरा सडक : पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र



दमौली (तनहुँ) निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वीखण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको छ। आर्थिक वर्ष २०८०/८१ मा पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म एकतर्फि रूपमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्र भएको हो।

पूर्वीखण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म एकतर्फि रूपमा ६३ किलोमिटर खण्ड कालोपत्र सकिएको जानकारी दिए। वर्षाका कारण अहिले कालोपत्रको काम रोकिएको छ। उनले भने, “अन्य काम भइरहे पनि वर्षाका कारण हाल कालोपत्र गरेका छैनौँ। वर्षा सकिएपछि बाँकी खण्डमा कालोपत्र हुनेछ।”

पूर्वीखण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्दछन्। त्यसमध्ये व्यास नगरपालिकाको दमौली र डुम्रे बजारका केही भामा घरटहरा हटाउन ढिलाइ हुँदा कालोपत्र काम अगाडि बढ्न सकेको छैन।

पाण्डेकानुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएका छन्। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनले जानकारी दिए।

प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार  ९ : ३७ बजे