काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ।
आइतबार सिंहदरबारस्थित आफ्नै सचिवालयमा समितिले आचार्यसँग बयान लिएको हो। आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टर थिए।
गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसँगै सहमहामन्त्री आचार्य पनि जोडिएका छन्।
सूर्यदर्शन सहकारीबाट ०७८ पुस ६ मा १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको देखिएको छ। आचार्यले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर आफ्नो कम्पनीमा पनि सारेका थिए।
आचार्यकी श्रीमती सुरक्षा अधिकारीको नाममा स्थापना भएको ‘नोबडी प्रोडक्सन प्रालि’को खातामा गोर्खा मिडियाबाट ५ करोड ३५ लाख रुपैयाँ रकम ट्रान्सफर छ।














