तेलअभिभ । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट ६ जना बन्धकको शव बरामद गरिएको मङ्गलबार जनाएको छ।
बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मङ्गलबार बिहान मृत घोषणा गरिएको थियो।
गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकहरूको परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।
मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ।
फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत् फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ।
यसै क्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाब दिएको छ।
इजिप्ट, कतार अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन्।














