गौरापर्व विशेष समारोहमा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी, देउवा जंगिए



काठमाडौं । सोमबार सैनिक मन्च टुडिखेलमा आयोजित गौरापर्व विशेष कार्यक्रममा सहभागीहरुले नेताहरु विरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रममा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको थियो। प्रधानमन्त्री ओली बोल्दा नाराबाजी भएको थियो ।

नाराबाजी भएपछि कांग्रेस सभापति देउवा आक्रोशित हुँदै आन्दोलनकारीलाई गाली गरेका थिए । आक्रोशित हुँदै देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित कार्यक्रममा सहभागीहरुले नेताहरु बोल्दा नाराबाजी गरेका थिए । सो क्रममा देउवा ‘लाज छैन’ भन्दै जंगिएका थिए ।

‘यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’, देउवाले भने, ‘कार्यक्रम बिथोल्ने, लाज छैन ।’ गौरापर्व खेल्न र हेर्न आएकाहरुको कार्यक्रम बिथोल्न खोजेको भन्दै देउवाले आक्रोश व्यक्त गरेका थिए ।
नाराबाजीकाबीच देउवाले आफ्नो सम्बोधन जारी राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए।

नाराबाजीमा सहभागीहरुले बालेन्द्र शाह(बालेन)लाई नबोलाएकोमा आक्रोश पोखेको बताइन्छ । प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूह(प्रशंसा)ले बर्षेनी काठमाडौंमा गौरापर्व विशेष कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार  ५ : ४९ बजे