प्रधानमन्त्री म होईन,शेरबहादुर देउवा नै बन्ने हो : परराष्ट्रमन्त्री आरजु



धनगढी । गौरा पर्वका अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढीमा पूगेकी छिन्। गौरा समापन गरेर काठमाडौँ फर्कनुअघि उनी धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी भइन्।

पत्रकारहरूले उनलाई प्रश्न गरे अबको प्रधानमन्त्री तपाईँ हो ?

उक्त प्रश्नको जवाफ दिँदै अबको प्रधानमन्त्री आफू नभएर शेरबहादुर देउवा हुने बताइन्।

आरजूलाई सम्भावित प्रधानमन्त्री भन्ने विषयमा विभिन्न माध्यममा भइरहेका टीकाटिप्पणीलाई भने सकारात्मक रूपमा लिएको बताएकी थिइन्।

‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ। बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ,’ उनले भनेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। ओलीको उक्त भनाइलाई कतिपयले आरजूलाई प्रधानमन्त्री बनाउन चाहेको रुपमा संकेत गरेको हुन सक्ने भन्दै अनुमान लगाइरहेका छन्।

प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्री बन्ने भनेर बोलेकोमा उनले धन्यवाद समेत दिइन्। यद्यपि प्रधानमन्त्री ओलीको भनाइ आफूप्रति लक्षित नभएको जस्तो लागेको राणाले बताइन्।

‘म प्रधानमन्त्री ओलीजीलाई धन्यवाद दिन चाहन्छु। तर त्यो कुरा मेरा लागि भन्नु भएको जस्तो लाग्दैन। उहाँले आफ्नो पार्टीको कोही उम्मेदवार हुन सक्छ भन्नु भएको होला,’ उनले भनिन्, ‘अबको प्रधानमन्त्री शेरबहादुर देउवाजी हो।’

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  १२ : २४ बजे