पाँचथरमा ग्रिनेड विस्फोट,एकैघरका दुई नाबालकको मृत्यु



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका(५ मा ग्रिनेड विस्फोट हुँदा एकैघरका दुई नाबालकको मृत्यु भएको छ।

स्थानीय दिलिप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए।

प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो। उनीहरू दुवै जना सहोदर दाजुबहिनी हुन्।

बिहीबार आइतराज केरुङको घरमा ग्रिनेड विस्फोट भएको थियो। दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो।

विष्फोटमा उनका चार छोराछोरी घाइते भएका थिए। घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो। ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

हाल घटनास्थललाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीका अनुसार केरुङको घरमा अर्को पनि विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको छ।

विस्फोट भएको पदार्थ पनि ग्रिनेड नै भएको उनको भनाइ छ।

विस्फोटबारे थप अध्ययन गर्न नेपाली सेनाको टोलीलाई बोलाइएको र सेना घटनास्थल पुग्ने क्रममा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ९ : २१ बजे