पुस्तकालय खोल्न सजिलो छैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तकालय खोल्ने काम सजिलो नभएको बताएका छन् । शनिबार गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ को लोकार्पण गर्दै थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताएका हुन् ।

उनले भने, ‘गोदावरीको ठाउँमा पुस्तकालय खोल्ने कुरा सम्भव किन भएको हो भने यो ललितपुरमै सबैभन्दा बढी लेखपढ गरेका र शिक्षित मानिसहरु बसेको ठाउँ हो भनेर भन्ने गरिन्छ । यस्तो पृष्ठभूमि नभएको भए यहाँका अग्रजहरुले त्यस्तो वातावरण नबनाइदिएको भए, चिन्तन नगरेको भए यस्तो नतिजा आउने थिएन् । पुस्तकालय खोल्ने सजिलो काम होइन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा भर्खर हामीले पुस्तकालय निर्माण गर्ने काम सम्पन्न गरेका छौं । अझै केही कामहरु बाँकी रहेका छन् । पुस्तकालय बनाउन कति गाह्रो हुँदोरहेछ भन्ने कुरा मैले बल्ल महसुश गर्न पाएको छु ।’

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले नेपालमा पुस्तकालय खोल्ने लहरले पठन संस्कृतिमा विकास भएको बताए । ‘पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेपछि, स–साना राज्यहरु जित्दै जित्दै गएपछि, हातैले लेखेका ध्वजापत्र एवम दस्तावेज लेखेका कागजहरु हुन्थे । ति कागजहरु च्यात्नु हुन्न, नासिनु हुन्न त्यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतना थियो । युद्द जित्दै गएपछि सबै कागजहरु बटुलेरराख्दै गएको पाइन्छ,’ उनले भने ।

सोही क्रमबाट अहिले धेरै प्रकारका पुस्तकालयहरु स्थापना भइसकेको उनको भनाइ थियो । स्कुल, क्याम्पस, सरकारी कार्यालय वा सामूदायिक स्तरबाट पुस्तकालय खोल्ने परम्परा रहेको उनले बताए । कार्यक्रममा वागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जनताको आकाक्षा धेरै भएकाले पुरा गर्नुपर्ने आफूहरुको दायित्व रहेको बताए ।

नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिका स्थापित पुस्तकालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने बताए । उनले पुस्तकायल नगरभित्रकै गौरव रहेकाले बार्षीक बजेट व्यवस्थापन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पुरुषोत्तम आचार्य, वडाध्यक्ष सानोभाई पहरीलगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : ०९ बजे