१८ भदौ, काठमाडौं । सहकारी संस्थाको बचत दुरुपयोग भएको सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्यबहादुर थापाले प्रस्तुत गरेको समितिको कार्यविधि थप गर्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि समितिको म्याद १५ दिन थप भएको हो ।
१५ जेठमा गठन भएको उक्त संसदीय समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिंदै थियो ।
मंगलबारको बैठकमा समिति सभापति थापाले समितिले सार्वजनिक बिदाको दिन, कार्यालय समय बाहेक बिहान, बेलुका र मध्यरातिसम्म काम गरिरहेको बताए । तर काम तीव्र गतिमा गर्दैगर्दा पनि समितिको कार्यावधि भदौ २२ गते समाप्त हुन लागेकाले धेरै काम बाँकी रहने बताए ।














