काठमाडौं । भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ ।
बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरु तर्फ बजेट कम रहेकोले कामहरु धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट कम रहेको बताए ।
उनले भने, ‘२०८० र ८१ मा कार्यक्रमहरु तर्फ बजेट शुन्यता रह्यो, त्यसकारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरु थिए तर, बजेट अभावले ती कार्यक्रमहरु अगाडि बढाउन सकेनौं । लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखिकरणका कामहरु र त्यसैगरी भाषाको पुस्तान्तरणका लागि संचालित हुँदै आएका कक्षाहरु जस्ता कामहरु हामीले अगाडि बढाउन सकेनौं ।’
साथै उनले प्रदेश सरकार र स्थानिय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखिकरणका कामहरु गरेको बताए । उनले पहिलादेखि कक्षा संचालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए ।