मुम्बई । भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो ।
स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका निम्ति राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने’ जनाइएको छ ।
शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो । त्यसलाई स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ ।
मणिपुरका पूर्वमुख्यमन्त्री स्व। मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार गरिँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारको आक्रमणमा विद्रोहीले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरेपछि प्रहरीले राज्यमा हिंसामा वृद्धि भएको जनाएको छ ।
मेइतेई र कुकी समुदायबीच जमिन र सार्वजनिक रोजगारीका निम्ति भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानवअधिकारवादी समूहले लगाएका छन् । रासस/एएफपी