काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि आक्रमण गर्न लागेको बताए ।
उनले भने, ‘जब शासकहरु भ्रष्ट हुन्छन्, जब शासन सत्ताले राज्यका सबै अंग वा निकायहरुलाई निकम्मा बनाउँछ त्यसपछि राज्यहरु असफल हुँदा रहेछन् ।
आज बिहान समाचारहरु हेर्दा मलाई लाग्छ राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ । उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा सामान्य होइन ।’
साथै उनले आजको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिए ।उनले भने, ‘एक वर्ष वा दुई वर्ष तपाईंले जित्नुहोला ।
स्मरण रहोस् तपाईंहरू आफैंले खनेको खाल्डोमा पर्नुहुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, सम्मानित पद गुमाउँला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं लड्ने छ । नेपाली लोकतन्त्र यति कमजोर हो, लोकतन्त्रको हुर्मत लिने हो ?’
उनले संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए ।