काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंको लागि असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ।केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो।
दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो।
बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै केन्द्रीय बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो।
बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ। ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ।
यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो।गत वर्ष पनि केन्द्रीय बैंकले साना दरको १र१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट साटिएको थियो।
यस वर्ष पनि केन्द्रीय बैंकले सोहि अनुसार साना नोट सटही गर्ने जनाएको छ।गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो।सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।











