प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना दिदैं देउवालाई ओढाए दोसल्ला



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोसल्ला ओढाएका छन्।

देउवाको जन्मदिनको अवसरमा प्रधानमन्त्री निवासमा भेट कार्यक्रम आयोजना गरी ओलीले देउवालाई शुभकामना दिएका हुन्।

देउवालाई दोसल्ला ओढाएर शुभकामना दिनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट भएको थियो।

तीनै नेताहरूले समसामजिक राजनीतिक विषयमा कुराकानी पनि गरेका थिए।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो,’ देउवालाई दोसल्ला ओढाएको फोटो राख्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो। सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी१’

देउवाको वास्तविक जन्ममिति र नागरिकतामा उल्लेख भएको जन्ममिति भने फरक छ। नागरिकतामा देउवाको जन्ममिति २००३ जेठ ३१ गते उल्लेख छ।

बिहीबार बालुवाटारमा तीन नेताबीच भएको छलफलमा संवैधानिक परिषद्को बैठकका लागि परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

यसअघि बुधबार ५ बजेका लागि बैठक बोलाइएको भएपनि अन्तिम समयमा आएर शुक्रबारका लागि सारिएको थियो।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  १ : ०१ बजे