पदक विजेता पलेशालाई पोखरामा नगदसहित सम्मान



पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ।

पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद २ लाख २२ हजार २२२ सहित सम्मानपत्र प्रदान गरेका हुन्।

‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेशा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ,’ नगर प्रमुख आचार्यले भने, ‘यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अब यसै गरी दर्ज हुँदै जानेछ।’

भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ,’ प्रमुख आचार्यले भने, ‘तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेशाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’

महानगरपालिकाले प्रदान गरेको सम्मान पलेशा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताए। आइतबार पलेशाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेतसम्मान गरिएको हो।

‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशालाई सम्मान गरेका छौँ,’ उनले भने, ‘पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन्।

पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेशा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १२ : ३८ बजे