काठमाडौँ । सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।
प्रतिनिधि सभामा माओवादी केन्द्रले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्षविहीन भएको हो।
सभामुखले दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए। बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका थिए।
माओवादी केन्द्रको संसदीय दलको बैठकले हिंसा शब्दलाई संसदको रेकर्डबाट हटाउने निर्णय नभएसम्म संसदमा अवरोध गरिरहने निर्णय भएको थियो।
तर संसदका अरु दलहरूले भने माओवादीलाई निर्णय सच्याउन आग्रह गरेका थिए। ‘संसदको जो अवरोध थियो, त्यो कसरी सञ्चालन गर्ने भन्ने छलफल भयो,’ छलफलपछि बाहिरिने क्रममा उनले भने, ‘यहाँ भएको छलफल दलमा राख्छु।’
आफ्नो दलमा छलफल गर्ने भनेपछि माओवादीलाई छलफल गर्न सभामुखले १ घण्टा प्रतिनिधि सभाको बैठक सारेका छन्।
दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजेलाई सारिएको छ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी थिए।
प्रतिनिधि सभामा भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ भन्ने शब्द उल्लेख गरेका थिए। उक्त शब्दमा माओवादीको आपत्ति थियो। उसले संसदको रेकर्डबाट उक्त शब्द हटाउन माग गरेको थियो।
भदौ २६ गते समामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएका कारणले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए। यसपछि माओवादीले संसद अवरुद्ध गरेको छ।