‘हिंसा’ शब्द नहटाएसम्म संसदको अवरोध कायमै राख्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको रेकर्डबाट ‘माओवादी हिंसा’ भन्ने पदावली नहटाएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ।

आइतबार माओवादी संसदीय दलको बैठक बोलाएर ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको हो।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा दलहरूले सदनको अवरोध खोल्न आग्रह गरेका थिए।

यसपछि पार्टीमा छलफल गर्ने भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बाहिरिएका थिए।

माओवादी सचेतक रुपासोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन्।

‘हाम्रो प्रष्ट निर्णय छ( माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन। यो संसदीय दलकै निर्णय हो,’ उनले भनिन्, ‘यसबाट तलमाथि हुँदैन।’ सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध नखुल्ने उनको भनाइ छ।

यसअघि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको थियो। सभामुखले दलका प्रमुख समेतक र सचेतकहरुलाई बोलाएका थिए।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका थिए।

माओवादीले आफ्नो दलमा छलफल गर्ने भनेपछि सभामुखले प्रतिनिधि सभाको बैठक सारेका छन्। दिउँसो १ बजेका लागि तय भएको बैठक ३स्१५ बजेका लागि सारिएको छ।

प्रतिनिधि सभामा भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले ‘माओवादी हिंसा’ भन्ने शब्द उल्लेख गरेका थिए। उक्त शब्दमा माओवादीको आपत्ति थियो। उसले संसदको रेकर्डबाट उक्त शब्द हटाउन माग गरेको थियो।

भदौ २६ गते समामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएका कारणले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए। यसपछि माओवादीले संसद अवरुद्ध गरेको छ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ३ : २९ बजे