जनमोर्चाले सङ्घीयताको खारेजीका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्ने



काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । असोज ४ र ५ गते बुटवलमा सम्पन्न जनमोर्चाको बैठकले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको हो ।

बैठकले आन्दोलनका बारेमा भनेको छ, ‘राष्ट्रिय जनमोर्चाले सङ्घीयताको खारेजीका लागि राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ । यो आन्दोलन राष्ट्रिय जनमोर्चाको मात्र नभएर नेपालको सम्पूर्ण जनताको आन्दोलन हो । यदि सङ्घीयता खारेज नभएमा मुलुक झन्पछि झन् विदेशी ऋणको मारमा पर्ने छ’ विज्ञप्तिमा भनिएको छ ‘सङ्घीयताबाट देशको सार्वभौमसत्ता र राष्ट्रियतामाथि खतरा उत्पन्न हुने भएकोले यो आन्दोलन मुलुकलाई माया गर्ने सम्पूर्ण देशभक्तहरूको आन्दोलन हो ।’

साथै जनमोर्चाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई सफाइ दिइएको दाबी गरेको छ । बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले उक्त समिति नै लामिछानेलाई बचाउने गरी गठन भएको निष्कर्ष निकालेको हो ।

जनमोर्चाले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको दाबी गर्दै तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी अपचलन प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट रवि लामिछाने उपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको दाबी गरेको छ ।

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ३ : २३ बजे