पाटनमा चंगाको व्यापार चम्कियो, असनमा खस्कियो



काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएको छ । दशैं तिहारको मौसम चंगा चेटका लागि उपयुक्त मानिन्छ ।

दशैं तिहारको मौसममा चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ । आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दसैँ आउँदै छ भन्ने महसुस गर्छन् ।

विगतमा भन्दा यो वर्ष चंगाको व्यापार अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन् । व्यापारीहरुलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ ।

बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड देखिन्छ । तर सधैं घटस्थापनादेखि चंगा व्यापार बढ्ने चंगा व्यवसायीहरुको भनाइ छ ।

दशैँमा चंगा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, जेष्ठ नागरिकहरुका अनुसार दशैँमा चंगा उडाउने प्रचलन धेरै पुरानो हो ।

दशैँमा चंगा उडाउने प्रचलन धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वर्षा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चंगा उडाउने प्रचलन सुरु भएको सँस्कृतविद्हरु बताउँछन् ।

यद्यपी, यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारका व्यापारीहरुलाई चंगा बेच्न भ्याइनभ्याइ भइरहेको छ । विगत ४० वर्षदेखि चंगाको व्यापार गर्दै आइरहेकी गंगा लक्ष्मी पनि कोरोनाको समयमा व्यापार घटे पनि यो वर्ष राम्रै व्यापार भइरहेको बताइन् ।

उनलाई चंगा बनाउन र बेच्न भ्याइनभ्याइ छ । दशैंको समयमा धेरै चंगा व्यापार हुने भएकाले उनको पुरै परिवार नै दिनभर चंगाको व्यापार गर्न सक्रिय छन् । गंगा लक्ष्मी दशैंको समयमा चंगा बेचेरै आठदेखि नौं लाख रुपैयाँ कमाउने गरेको सुनाउँछिन् ।

उनले भनिन्,‘व्यापार गर्न थालेको ३०–४० वर्ष भइसक्यो । पहिला भन्दा अहिले व्यापार गर्न सजिलो पनि छ । पसलहरु धेरै खुलेपनि चंगाहरु होलसेलमा भारतबाट ल्याँउदा राम्रै आम्दानी हुन्छ । एक्लैलाई थेग्न गार्हो भएकाले परिवारनै सक्रिय भएका हौं । भीडभाड बढी हुने भएकाले छोरा, श्रीमान र नन्द मिलेर व्यापार गर्छौं । दशैंको समयमा आठदेखि नौं लाख रुपैयाँ कमाउँछौं ।’

यस्तै पाटनका अर्का व्यापारी किशोर देउलाले पनि यो वर्ष चंगाहरुको राम्रो व्यापार भइरहेको बताए । उनले पहिला भन्दा अहिले चंगा व्यापारले राम्रो फट्को मारेको बताए ।

उनले चंगा कतिपय आफैं बनाउने र कतिपय भारतबाट ल्याउने गरेको बताउँछन् । चंगा उडाउनका लागि धागो उनी आफैं निर्माण गर्छन् । चंगा बेचेर खान बस्नको र अन्य सामान्य आवश्यक्ता पूर्ति गर्न सहजता भएको उनी बताउँछन् ।

उनले भने, ‘व्यापार राम्रो छ अहिले । पहिलाको भन्दा अहिले व्यापार धेरै बढेको छ । पहिला टिपीकल नेवारहरु मात्र चंगा उडाउने गर्थें भने अहिले गैर नेवारहरुले पनि चंगा उडाउन थालेकाले व्यापार राम्रो हुँदै गएको छ । राजधानीमा मात्र नभएर यो भन्दा बाहिर पनि चंगाको डिमान्ड बढेको छ । कतिपय चंगा आफैं निर्माण गर्छौं भने कतिपय भारतबाट ल्याएर बेच्ने गर्छौँ ं। कोरोना कालमा चंगा व्यापारी संकटमा परेका थिए भने अहिले आफ्नो लय समातेको छ ।’

यस्तै व्यापारी देउलाले सामाजिक सञ्जालले पनि व्यवसायमा सहजता प्रदान गरिरहेको बताए । उनले फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा विज्ञापन गरिरहँदा चंगा राम्रो आम्दानीको स्रोत बन्न सकेको बताए ।

चंगाको मूल्य पनि पाँच रुपैयाँबाट सुरु भएर सबैभन्दा महंगो कपडाको पाँच सय रुपैयाँसम्म रहेको बताए । स्वदेशी सामान सस्तो समेत भएकाले चंगा बनाउन सहज भएको उनको भनाइ छ ।

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंगाले स्थान ओगटेको छ । चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो प्रयोग गर्नुपर्ने व्यापारीहरुको भनाइ छ ।

चंगा नेपालमा मात्र नभएर विभिन्न विदेशमा पनि उडाइन्छ । नेपालमा भने दसैँमा परिवार तथा साथीभाइसँग रमाइलो गर्न उडाइन्छ । किनकी असोज कात्र्तिकको समय हावाको गति चंगाका लागि ठिक्कको हुने गरेको व्यवसायीहरुको बुझाइ छ । तर, नेपालमा चंगा उडाउनुको अर्थ बेग्लै छ ।

तर पाटन, मंगलबजारका व्यापारीहरु जति खुशी छन् काठमाडौं असन क्षेत्रका चंगा व्यापारी सुरेश सुचियाल भने निराश देखिन्छन् । उनले दशैँका बेला पनि चंगाको व्यापार गरेर पैसा कमाउन नसकेको उनी सुनाउँछन् ।

उनले चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका कारण चंगा व्यापार राम्रोसँग हुन नसकेको बताए । उनले चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेको बताए ।

सुरेश चंगा बेच्ने मात्र होइन, आफैं बनाउँछन् । तर चंगा अघिल्लो वर्ष राम्रो विक्री भए पनि यस वर्ष व्यापार घटेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले चंगाको व्यापार धेरै राम्रो छैन । पोहोरसाल भन्दा यो साल कम व्यापार भएको छ । ग्राहकहरुको संख्या त्यति बाक्लो छैन । सबै जना विदेश गईरहेका छन् । केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका छन् । चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेका छन् ।’ काठमाडौंका असन, इन्द्रचोक क्षेत्रका चंगा पसलहरुमा तुलनात्मक रुपमा ग्राहकहरुको संख्या न्यून नै देखिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १२ : ४९ बजे