काठमाडौं, भदौ २६ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपियाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपियाँ मौज्दात छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपियाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भइ कोषमा दाखिला भएको हो।










