काठमाडौँ– चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेसहितका नेताहरू स्वदेश फर्किएका छन्।
बिहीबार रास्वपा टोली फर्किएको हो। गोर्खा मिडियाका तत्कालीन सञ्चालकसमेत रहेका रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा टोली भ्रमण छोट्याएर फर्किएको हो।
गोर्खा मिडियामा रविका साझेदारसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्न सक्ने भएकाल आफूहरु फर्किएको उपसभापति डा वाग्लेले बताए।
१० दिनको भ्रमणलाई छोट्याएर फर्किएको उपसभापति वाग्लेले बताए। चीन भ्रमणमा १४ जना गएकामध्ये ८ जना फर्किएको र बाँकी ६ जना शुक्रबार फर्किने उनले बताए। १४ सदस्यीय रास्वपा टोली शनिवार चीन गएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा उनीहरु चीन गएका थिए। चीनको द्रूत आर्थिक प्रगति भएका क्षेत्र पुगेर आधुनिक प्रविधिका विषयमा जानकारी लिएको वाग्लेले बताए। प्राज्ञिक विमर्श पनि भएको उनको भनाइ छ। बेइजिङमा राजनीतिक भेटघाटका लागि तय भएको कार्यक्रम थाती राखेर आफूहरु फर्किएको उनको भनाइ छ।
‘पार्टी सभापतिमाथि भइरहेको प्रहारका विरुद्ध एकजुट भएर फर्कनुपर्छ भनेर हामीले आइतबार नै तयारी गर्यौँ,’ तत्कालै फर्कने भनिएपनि बिहीबार मात्र फर्किएको विषयमा प्रस्ट पार्दै उपसभापति वाग्लेले भने, ‘तर यता सोचेजस्तो छिटो रूपमा घटनाक्रम विकास भएनन्। त्यही भएर पूरै कार्यक्रम रद्द नगरी छोट्याएर फर्किएका हौँ।’
आफूहरूको भ्रमण र छोट्याएर फर्कनुपरेको विषयमा शुक्रबार दिउँसो ४ पार्टी कार्यालयमा थप प्रकाश पार्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका थिए।
उता सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने बताइसकेको छ। यसै सिलसिलामा गोर्खामा रविका साझेदार छविलाई पक्राउ गरी पोखरा लगिएको छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट भएको रकम अपचलनको विषयमा अनुसन्धान गर्न उनलाई पोखरा लगिएको छ। यसको अनुसन्धानमा सघाउन काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली खटिएको छ।
अनुसन्धानलाई थप प्रभावकारी बनाउन सिआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएपछि रास्वपा सभापति रवि लामिछाने जोडिएको भनेको सहकारी प्रकरण अझ पेचिलो हुने निश्चित छ।
सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले अनुसन्धानलाई प्राविधिक रुपमा सहयोगका लागि टोली पोखरा पठाइएको स्विकारे। ‘प्राविधिक सहयोगका लागि कास्की प्रहरीलाई सहयोग गर्ने गरी टोली पठाउन लागिएको हो’ एसपी बोगटीले भने।
गोरखा मिडियामा रवि लामिछानेका साझेदार रहेका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेपछि यता राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्यालयमा हलचल पैदा भएको थियो। सभापति लामिछानेको सम्भावित गिरफ्तारीलाई मध्यनजर राख्दै आइतबार रातिसम्म रास्वपा कार्यकर्ता पार्टी मुख्यालय पुगेर नाराबाजी गरिरहेका थिए। यसलगत्तै रास्वपाले चीन गएको टोलीलाई आकस्मिक रूपमा फिर्ता बोलाएको थियो।
जोशीलाई पोखरा पुर्याएर उनको बयान प्रारम्भ भइसकेको छ। जोशीले आफ्नो प्रारम्भिक बयानमा ‘सहकारी प्रकरणमा आफूलाई केही थाहा नभएको तर जीबी राई र रवि यो विषयमा जानकार रहेको’ बताएका छन्। उनले प्रहरीसमक्ष आफूलाई मात्र पक्राउ गरिएकोमा समेत प्रश्न गरेका छन्।
सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहित, रवि र जीवीलाई कारबाही गर्न सिफारिस गरेको थियो।
पोखराको सुर्दशन सहकारीबाट बचतकर्ताका १ अर्ब ५ करोडभन्दा बढी रकम अपचलन भएको देखिएको छ। रविका साझेदार छविलाल जोशीलाई पक्राउ गरेको प्रहरीले रविलाई भने पक्राउपुर्जी थमाइसकेको छैन।














