गगन थापाले भने- विपद्का बेला सरकारले आलोचना सुन्ने हो, उत्तर दिने होइन



काठमाडौँ । सत्तासाझेदार नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले विपद्का बेला सरकारले आलोचना सुन्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विपद्का बेला सरकारले आलोचना सुन्नुपर्ने बताएका हुन्।

‘यस्तो बेलामा आलोचना सुन्ने हो, उत्तर दिने होइन,’ समितिको बैठकमा थापाले भने, ‘मुख्सचिव, प्राधिकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख आफ्नो ठाउँमा देखिएनन्। बैठक मात्रै धेरै भए, काम भएन भन्ने गुनासा छन्।’

असोज ११ र १२ गते भएको अविरल वर्षाको समयमा रात्रि बस सञ्चालन नगर्ने त्यसअघि नै गरिएको निर्णय उनले स्मरण गरे।

उनले भने, ‘उद्धारमा संघीय सरकारको फोकस होस्, राहतको जिम्मा स्थानीय तहलाई दिनुपर्छ।’ विपद्‌मा पीडितलाई सहयोगका निम्ति ढिलाइ गर्न नहुने उनको भनाइ छ।

सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीको आलोचना भइरहेको छ। ओलीले बाढीपहिरो पूर्वसूचना दिएर नआउने भन्दै सरकारको उद्धार तथा पुनर्स्थापनमा सरकारको कमजोर उपस्थितिको बचाउ गरेका थिए।

सिंहदरवारबाट केही किलोमिटरको दूरीमा ललितपुर नख्खुखोलाको बाढीमा घण्टौँसम्म उद्धारको गुहार माग्दा पनि कसैले पनि उद्धार नगरेपछि ४ जना बगाएको थियो।

घटनालगत्तै गृहमन्त्री रमेश लेखकले हतारहतार उनीहरूलाई बचाउन नसकिएको कुरा बताएका थिए। उद्धारको प्रयास नगर्ने तर मानिसहरूको मृत्युको घोषणा गर्न हतार गरेको भन्दै गृहमन्त्रीसहितका मन्त्रीहरूको आलोचना भइरहेको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : १० बजे