काठमाडौं । इरानले इजरायलमाथि फेरि आक्रमण गरेको छ।
विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समाचार अनुसार मंगलबार राती इरानी आक्रमण भएको हो। इरानले तेलअविवलाई निशाना बनाएर दर्जनौ मिसायल तथा ड्रोनहरु प्रहार गरेको इजरेली सेनाले पुष्टि गरेको छ।
इरानले इजरेल तर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ।
जेरुसेलमस्थित संवाददाताहरुले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन्। केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ।
अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही पूरा गरेको जनाएका छन्। तर इजरेलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन्।
इजरेलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन्।
यो सँगै अब इजरायल र इरानबी युद्ध सुरु हुनसक्ने अनुमानहरु सतहमा आएका छन्। यसअघि पनि इरानले गत अप्रिलमा इजरायलमाथी मिसायल तथा ड्रोनहरु प्रहार गरेको थियो।
पछिल्लो आक्रमणका सबै विवरणहरु भने आइसकेका छैनन्।














