पोखरामा सबै जिल्लाका कार्यकर्ता खटाउन रास्वपाको उर्दि



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ। सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेका पक्षमा प्रदर्शन गर्न रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतार्ने निर्णय लिएको हो।

रास्वपा केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतका जिल्लालाई यस्तो निर्देशन जारी गरेका हुन्। शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो चाँडो कम्तीमा सय जनाको दरले पोखरा पुग्न निर्देशन छ।

‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ,’ प्रदेशले जिल्लालाई दिएको निर्देशनमा उल्लेख छ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार बिहान पोखरा पुर्‍याएको छ। लामिछानेलाई आइतबार अदालतमा पेस गरिँदैछ।

लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो। रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ।

सहकारी पीडितहरूले पनि पोखरामा प्रदर्शनको तयारी गरेका छन्। उनीहरूले रविका पक्षमा प्रदर्शन गरेर वातावरण नखल्बल्याउन पनि रास्वपालाई अनुरोध गरेका छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुलाई सहकारी ठगीको आरोपमाथिको अनुसन्धानमा सघाउन आग्रह गरेका छन्। रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अपिल गरेका हुन्।

‘विरोध र समर्थनमा गर्ने कार्यक्रमहरु शान्तिपूर्ण हुनुपर्छ, लोकतन्त्रको अभ्यास गर्न पाइयो तर आफूले गर्दा अरुलाई डिस्टर्ब हुने, शान्ति सुरक्षा भंग हुने खालको गतिविधि गर्नु भएन, उच्छृङ्खल गतिविधि गर्नु भएन,’ उनले भनेका छन्।

शान्ति सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधि नगर्न उनले दुवै पक्षलाई अनुरोध गरे। साथै विषय अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्णयलाई मान्नुपर्ने उनले बताए।

प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार  १२ : १२ बजे