सेनाले बनायो खुर्कोटको बेलीब्रिज,गाडी चल्न थाले



काठमाडौँ– नेपाली सेनाले खुर्कोटस्थित सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न गरेको छ। बेलीब्रिज जडान भएसँगै मंगलबारबाट आवागमन सुचारु भएको छ।

‘सिन्धुली जिल्लास्थित गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोसी नदी माथि रहेको पुल पुनर्निर्माणपछि आजबाट यातायात आवागमन सुचारु भएको छ,’ नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चात्‌को बाढीका कारण सुनकोसी नदीमाथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएको थियो। त्यसपछि आवागमन पूर्णरूपमा अवरुद्ध भएको थियो।

गत असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले कात्तिक ५ गते बेलीब्रिज जडान कार्य सम्पन्न गरेको थियो। सोही दिन पुलको भार बहन क्षमतासमेत परीक्षण गरिएको सेनाले जनाएको छ।

प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार  ५ : १९ बजे