म्याद थपको लागि रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो



काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेको कार्यकक्षमा बुधबार रविको बयान लिइएको थियो । बयानमा रविले पोखराको सहकारीबाट ऋण नलिएको र रवि लामिछाने भनी उल्लेख भएको नाम आफ्नो नभएको दाबी गरेका छन् ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  १० : ५६ बजे