शिक्षामन्त्री भट्टराईका ४३ बुँदे उपलब्धि,थरिथरिका खाका र कार्ययोजना तयार



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गरेकी छन् ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपलब्धिहरु सार्वजनिक गरेकी हुन् । मन्त्री भट्टराईले ४३ बुँदामा आफ्ना उपलब्धिहरु सार्वजनिक गरेकी हुन् ।

मन्त्री भट्टराईले सार्वजनिक गरेका उपलब्धिहरुमा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको, अनिवार्य तथा निःशुल्क शिक्षाको तिने तहका सरकारको जिम्मेवारी सहितको कार्यान्वयन कार्ययोजना तयार भएको, माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोच अनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको लगायतका छन् ।

तेस्तै विद्यालय तहको परीक्षा तथा मूल्यांकन प्रणालीमा सुधारको कार्ययोजना तयार भएको, ख्वप विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्मा पठाइएको, उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतीका लागि पठाइएको मन्त्री भट्टराईले बताइन् ।

तेसैगरि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैशिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रमहरू व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको मन्त्री भट्टराईले बताइन् ।

प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार  ६ : ४३ बजे