काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले ऊर्जामन्त्री दीपक खड्काको निर्देशनविपरीत ४४ वटा उद्योगको बिजुली काटेको छ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, बक्यौता नतिरेका उद्योगहरूलाई रकम तिर्न समयसीमा दिइएको थियो, तर उनीहरूले अटेर गरेपछि विद्युत् सेवा बन्द गरिएको हो।
ऊर्जामन्त्री खड्काले बिहीबार आयोजित एक बैठकमा लाइन काटेर समस्याको समाधान नहुने बताउँदै वैकल्पिक उपाय खोज्न निर्देशन दिएका थिए। तर, प्राधिकरणले बक्यौता नतिरेका उद्योगहरूलाई दबाब दिनका लागि यो कदम चालेको हो।
केही उद्योगहरूले अदालतबाट अन्तरिम आदेश पाएका कारण तिनीहरूको बिजुली काटिएको छैन, जबकि अन्य उद्योगहरूले किस्ताबन्दी सुविधा लिएर बक्यौता तिर्न सुरु गरेका छन्।
प्राधिकरणको यो कदमले उद्योगीहरूमा चासो र विवाद उत्पन्न गरेको छ।










