काठमाडौँ । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवार छान्न सकेको छैन।
एमाले र माओवादीले उम्मेदवार टुंगो लगाएर चुनावी कार्यक्रम सुरु गरे पनि कांग्रेसले भने उम्मेदवार नै छान्न नसकेको हो।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट ११ जना सिफारिस भएका छन्। कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा राखेर आकांक्षी सबैको नाम जस्ताको तस्तै सिफारिस गरेको हो।
सिफारिस हुनेमा क्रमशः कृष्णमान डंगोल, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीता बोगटी, सशिर महर्जन, जनकलाल महर्जन, राममान सिंह, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन्।
कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरको एकल नाम सिफारिस भएको छ । उनी अघिल्लो निर्वाचनमा काठमाडौं १० अन्तर्गत प्रदेश सभा सांसदको उम्मेदवार बनेर पराजित भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगर प्रमुखमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादीले प्रा।डा। शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ।
२०७९ मा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएको थियो। नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। उनको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो। यहाँका वडा नम्बर १ र वडा नम्बर ४ मा पनि वडाध्यक्ष पदका लागि उपचुनाव हुन लागेको छ।
उता हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ। सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई उम्मेदवार बनाउने भएको छ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइन्। यो पालिकामा एमाले र माओवादी केन्द्रले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाएका छैनन्।
सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेका हो।
यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।














