काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी रोबर्ट एफ केनडी जूनिअरलाई दिने भएका छन्। उनी राष्ट्रपति पदका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए।
सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्। उनी वैज्ञानिकहरूले मिथ्या भन्दै आएका स्वास्थ्यसम्बन्धी जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्।
यदि सिनेटले उनको मनोनयनलाई अनुमोदन गर्यो भने केनडी खाद्यसुरक्षादेखि चिकित्सकीय अनुसन्धान तथा कल्याण कार्यक्रमहरू सञ्चालन गर्ने विशाल मन्त्रालयको नेतृत्वमा पुग्ने छन्।
केनडीले उद्योगहरूमा बन्ने खानेकुराले निम्त्याएको जटिलताबाट अमेरिकीहरूलाई जोगाउने ट्रम्पको भनाइ छ। औषधि कम्पनीहरूले मानिसहरूलाई भ्रामक सूचना र धोका दिएको आरोप लगाउँदै उनले त्यसबाट पनि केनडीले अमेरिकीहरूको रक्षा गर्ने दाबी गरे।
केनडी डेमोक्र्याटिक पार्टीका पूर्वराष्ट्रपति जोन एफ केनडीका भतिजा हुन्। उनको राजनीतिक जीवनमा विगत दुई वर्ष निकै उथलपुथलपूर्ण रहे। यो राष्ट्रपतीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी बनेका उनले पछि ट्रम्पलाई समर्थन गरे। बीबीसि बाट