धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्केलगत्तै भारत जाने भएका छन्।
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने जानकारी दिएका हुन्।
प्रेस युनियन धनगढीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले भारत वा चीन कुन देशको भ्रमणमा अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे।
‘प्रधानमन्त्रीको चीन भ्रमणको तालिका आइसकेको छ। चीनबाट फर्किए लगत्तै उहाँ भारत जानुहुन्छ,’ लेखकले भने।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा कांग्रेस–एमालेबीच खटपट भएको भनेर चलाइएको हल्लाको कुनै आधार नभएको उनको जिकिर छ।
‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं,’ २०८४ को निर्वाचनसम्म मिलेर जाने विषयसमेत उल्लेख गर्दै उनले भने।
मन्त्री परिवर्तनका विषयमा दुई दलबीच छलफल नभएको पनि उनले बताए। ‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने।
अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाइ छ।














