कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कडा कारवाही गर्न अर्थमन्त्री पौडेलको निर्देशन



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा बोलदै उनले यस्तो निर्देशन दिएका हुन् ।

पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गर्दै करको दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायतका पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।

त्यसैगरी राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्वको लक्ष्यलाई ध्यान दिएर थप मेहनत गरेर अघि बढ्ने बताए । अर्थ मन्त्रालयमा प्रवक्ता महेश भट्टराईले विगतको तुलनामा राजस्व सङ्कलन वृद्धि भए तापनि चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्न कर प्रशासनसँग सम्बन्धित सबै पक्षबीच समन्वय तथा सहयोग जरुरी रहेको र त्यसलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनी र आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले राजस्व सङ्कलनका क्षेत्रमा देखा परेका अवसर र कमजोरीहरूलाई ख्याल गर्दै राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न आफूहरूले सक्दो पहल गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार  ७ : ५३ बजे