महसुल नतिर्ने उद्योगको बैंक खाता र सेयर कारोबार रोक्का गर्न प्राधिकरणले पठायो पत्र



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत महशुल नतिर्ने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ ।

विद्युत नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि तर्फबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का राखिदिन आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेका हुन् ।

घिसिङले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी महसुल नतिरेका ३४ वटा उद्योगहरुको खाता रोक्का राखिदिन आग्रह गरेका हुन् । प्राधिकरणले नेपाल राष्ट्र बैंकसँगै धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा पनि खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ ।

प्राधिकरणको पत्रमा विद्युत महशुल नतिर्ने ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम समेत उल्लेख छ ।

प्राधिकरणले पत्राचारको जानकारी नियमनकारी निकाय विद्युत् नियमन आयोगलाई पनि गराएको छ ।

प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार  ६ : ४१ बजे